हामी र हाम्रो समाज कहाँ छ ?
- लेखन: Paras Mani Acharya
- सम्पादन: Bhupendra Acharya
आज नेपाली समाज विभिन्न कालखण्ड पार गर्दै यहाँसम्म आइपुगेको छ। नेपाल र नेपालीहरुले आजसम्म धेरै कुराहरु भोगे। विभिन्न आन्दोलनहरु भए, विभिन्न क्रान्तिकारी नाराहरु भनिए तर केका लागि ? परिवर्तनको नेतृत्व लिएकाहरु पद प्रतिष्ठामा पुग्नका लागि बनाइएका बाटाहरु मात्र थिए त ? ती सबै सबै नेपाली समाजलाई सहि बाटो लगाउनको लागि गरिएका थिएनन् र ? ती क्रान्तिको सुखद अन्त्य के तिनै नेतृत्वको कारणले मात्र भएको थियो र ? के वीर र साहसी नागरिकविना उनीहरुले क्रान्ति गर्न सक्थे ? के हामीहरु तिनीहरुका खेलौना मात्र थियौँ त ? हामी त्यही भनौँ या यही जातीय विभेद, वर्गीय विभेद, अन्धविश्वास जस्ता कुरीतिलाई अन्त्य गर्नका लागि जनयुद्धमा होमिएका थियौँ की त्यो १७०० मान्छे मार्नका लागि रचिएको चक्र व्यूह मात्र थियो त ? आज म जस्ता नेपाली मनहरूमा यस्ता कैयौं प्रश्न चिह्न खडा भईरहेका छन्। आजको नेपाली समाजलाई हेर्दा लागिरहेको छ की ती कुराहरु मात्र मान्छेले पद, प्रतिष्ठा पाउनको लागि गरेका हुन्। आज किन समाज र मान्छेको अमानवीय सोच परिवर्तन गर्न सकेन ? यसको उत्तर न त ती प्रतिष्ठित भनौदाहरूसँग नै छ न त आम जन सुमुदायसँग।
मधेस आन्दोलन के का लागि थियो, थरुहट आन्दोलन के का लागि थियो ? यो कुरा अहिलेसम्म मैले बुझ्नै सकिरहेको छैन।देशमा अरु पनि थुप्रै आन्दोलन भए अरे समाज रुपान्तरणको निम्ति। २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, ०६२,०६३ सालको आन्दोलन त मैले देख्न पाइन तर मधेस र थरुहट आन्दोलन मैले नजिकैबाट नियाल्ने अवसर प्राप्त गरेँ। त्यतिबेला ८,९ कक्षको स्कुले थिएँ म। तीनमा कैयौँ व्यक्तिले जीवनको आहुति दीनु प-यो। त्यसको फलस्वरूप के भयो शहिद घोषणा गर्ने काम ? मधेसी जनताका समस्या जहीँका तहीँ रहे। कसैले पनि उनीहरूको जीवनमा उज्यालोको दियो बाल्न सकेन भनौँ या चाहेन। थरुहट आन्दोलनमा पनि कसैले न्याय र चिताएको समाज पाउन सकेनन् भयो त केवल नेतृत्वको प्रसिद्धी। जसका लागि आन्दोलन भएको थियो त्यो २० बाट १९ हुन सकेन बरु २१ तिर लम्कियो।
अब कुरा गरौं हिजो आजकै। केही दिन अघी संसद भवनको रोस्टममा उभिएर एक नेताले ठाँटसँग भने " देशमा जातीय भेदभाव, छुवाछुत जस्ता सबै कुरीति अन्त्य भईसक्यो। हामीले क्रान्ति गरेर सबै ठीक पारीसक्यौँ।" त्यसको केही दिनपछि हिजो अस्ति तिर तीनकै निर्वाचन क्षेत्रमा एक युवाले जातीय भेदभावका कारण, कथित दलित भएकै कारण मृत्यु वहन गर्नुप-यो। कथित तल्लो जाती भएकै कारण कथित उपल्लो जातकी केटीसँग उनले प्रेम गरेर उनले ठूलो गल्ती रे। जसको सजाय स्वरुप उनले मृत्यु पाए। यती मात्र थिएन पुरै समाजले लखेटी लखेटी कुटी कुटी रक्ताम्य बनाएर मारे। त्यसरी रक्ताम्य बनाउँदा उनीहरुले आफ्नो जस्तै रातो रगत देखेनन् होलान्? उनीहरुमा उसको चीच्याहटले अलिकति पनि बिझेन होला? सम्झँदै मन चसक्क र शरीर जीरिङ्ग हुन्छ मेरो।
तर उनै नेताले फेरी उही रोस्टममै उभीँएर करले भनेछन् " अपराधीलाई कडाभन्दा कडा सजाय दिनुपर्छ, यो नै मेरो माग हो। " यो सुन्दा मलाई अचम्म पो लाग्यो। के यो र यस्तै सजायले मात्र समाजको मुहार फेरिन्छ त ? के यस्तै सजाय पहिले भएका थिएनन् र? ती लखेटी लखेटी मार्नेको सोच परिवर्तन हुन्छ त? आजको दिनमा कारबाही मात्र गरेर पुग्दैन। समाजका हरेक व्यक्तिको सोचमा परिवर्तन ल्याउनु नै आजको टड्कारो आवश्यकता बनेको छ।
अन्त्यमा भेदभाव र कुरीतिको मलजलमा राजनीतिक नेतृत्वलाई मात्र दोषी देखाएर हामी भने अछुतो रहन कदापी मिल्दैन। हामी नै होइनौँ त भेदभावलाई अङ्गाल्ने। खै के हुन्छ हेरौँ त सबै मिलेर एकैसाथ खाँदा, भेटे बखत हालखबर सोद्धा, चीया नास्ता सँगै खाँदा, एक अर्काको दु:ख सुखमा एक अर्काले साथ दिँदा यस्तो गर्दा के नै पो बिग्रिन्छ र? किन चाहियो वादविवाद तँ यस्तो म यस्तो भन्ने। सबैलाई भातृत्वको भावनाले हेरौँ न। समाजमा त्यसैको भाडभैलो किन गर्ने । एकपटक कल्पना गरौँ त एउटा समाज, सबै मिलेर बसेका छन, आ-आफ्नो काम सबै मिलेर गरेका छन्, बाँडीचुँडी खाएका छन्, कति राम्रो , हामीले चाहेको पनि यहीँ होइन र? व्यर्थैको तनाव किन लिने। सबै मिलेर समाजलाई रुपान्तरण गर्ने पो हो त। समाज परिवर्तन नै हुँदैन, के गर्छन् यी नेताहरु, राजनीतिको काम छैन भन्दै आफूले भेदभाव गर्दै गएपछि कसरी समाज बदलिन्छ त? यस्तो भन्नुको सट्टा सबैलाई समान ब्यवहार गरी छिमेकी छिमेकी गाउँले गाउँले मिलेर बस्दिउँ त, कसरी छेक्दो रहेछ त्यो राजनीतिले अनि त्यो समाजले हाम्रो रुपान्तरणको यात्रालाई....।।।।
जातीय होस् या वर्गीय जुनसुकै भेदभावपनि आफूले गर्दैन भन्ने प्रण प्रत्येक नागरिकले आजै गरौँ, यही नै समाजलाई सकरात्मकता तर्फ लिने पहिलो सोपान हो।
3 Comments
सही हो, वास्तविकता।।
ReplyDeleteहो नि।। यस्तै छ,
Deleteकमेन्ट रियाक्ट गरेर साथ दिईरहनु होला है।।।🙏🏻🙏🏻😊
ReplyDelete