सत्य-सन्देश
लेखनाथ पौड्याल
कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो,
कालो सौदामिनींको चहक, सब शरच्चन्द्रको कान्ति कालो ।
कैलास-श्रेणि कालो, झलमल गरने सूर्यको बिम्ब कालो,
यो सारा सृष्टि कालो, मन-बिच छ भने दम्भ दुर्भाव कालो ॥
दोषी माता-पिताका वचन, गुरुजनाऽऽदेश निःशेष दोषी
सत्त्याऽऽत्मा मित्र दोषी, गृह-परिजनको चाल देखिन्छ दोषी ।
पत्नीको प्रेम दोषी, अमृतमय मिठो वेदका वाक्य दोषी
यो सारा सृष्टि दोषी, विधि-वश छ भने आफनू दृष्टि दोषी ॥
थोत्रो पाटी उज्यालो, मलिन तृणकुटी, कन्दरा झन् उज्यालो ।
भिक्षा भारी उज्यालो, अझ घन वनको साग सिस्नू उज्यालो
फ्याङ्लो गुन्द्री उज्यालो, वरपर घुमदा जीर्ण कन्था उज्यालो
तृष्णाको तुच्छ जालो मनबिच नभए जो मिल्यो सो उज्यालो ॥
मत्ता हात्ती हलुङ्गो, वितत जलधिको ह्वेल माछो हलुङ्गो
जङ्गी बेडा हलुङ्गो, विकट कटकटे रेलगाडी हलुङ्गो।
शैलश्रेणी हलुङ्गो, पृथुतम पृथीवी-गोल सारा हलुङ्गो
यो ब्रह्माण्डै हलुङ्गो, जब सब मनको तिर्सना लाग्छ टुङ्गो ॥
भर्दाभर्दै हजारौं विषय-सुख-घडा देह लंतन्न पर्दा
छर्दा सम्पूर्ण सेखी, तुजुक, पवनले निस्कने जोड गर्दा ।
सर्दा आपस्त डर्दैपर पर धमिलो नाचको अन्त्य पर्दा
गिर्दामा साथ जाने कुन कुन चिज हुन् ? संझ ती काम गर्दा ॥
जस्तो मानी धनीका नगिच हरघडी टप्प जोडेर हात
छाती खोलेर गर्छौ हृदय बुझी सदा नम्रता साथ बात ।
दु:खीका साथ उस्तै विनयमित सदा मर्म सम्झेर बोल
गर्नै पर्दैन फेरी व्रत, जय तपले स्वर्गको मोलतोल ।।
0 Comments