जीवन
–लक्ष्मी प्रसाद देवकोटा
विउँझी रोदनमा कलिलो
मधुरो उषाको मोहनीमा ।
बैँस–वसन्त विहार र सपना
कुसुमाकरको ध्वनिमा ।।
प्रेम चकोर, जुनेली जादू,
शराव नशामा, चमक नजरमा ।
सुन्दरमा सव, विशाल विलासी
सुखमा, कोमल स्पन्दनमा ।।
नव नव झल्का, देश विराना
अभिलाषाका उच्च उडान ।
औपन्यासिक रङ्ग र लहरी
हलुका मुटुको हलुका गान ।।
कर्म क्षेत्रको जोश नवीन
वस्तुहरूको जोख र तौल ।
पयर दुवैको भरमा निर्भर
चौडा जगत स्वतन्त्र मोल ।।
रङ्ग उडेको कटुता, फोस्रा
आशाहरूको छारो चोर ।
चिन्ता, शोक, वियोग वढेका
नहुँदो शिरमा तर्क अघोर ।।
सिर्जनाको जाल विलासी
आफैं जेली आफैं हार ।।
फुल्दो शिरमा हिउँद तुषारो
थिचीरहेको जगव्यवहार ।।
बढ्दो चेत अकेलापनको
विर्सिसकेका सपना साज ।
उदासपनाका छाना नभ नै
शोक, विषाद, विराना आवाज ।।
जपमालाको आखिर भरमा
धरमर पयर जराको कम्पन ।
आँसुभरी नजर निमीलन
विचित्र नै छस् हे जीवन !
This is one of the great poems to me from the collection of Vikhari Kavita Sangraha by our Mahakavi Laxmi Prasad Devkota. You can find this poem recited in YouTube channel @bhpach as well as in podcast named Speaking BhpAch.
Youtube Link: Jeevan Poem in Youtube
Podcast Link: Me on Podcast
0 Comments