Today - my day Bhadra 29

मेरो अधिकारको जन्म भएको दिन - भदौ २९


- लेखन : पारसमणी आचार्य
-  सम्पादन : भूपेन्द्र आचार्य



भदौ २९ , प्रत्येक वर्षको रीतिरिवाजलाई अँगाल्दै मेरो विद्यालयमापनि बालदिवसको अवसरमा एक कार्यक्रम आयोजना गरिएको थियो । सबै विद्यार्थीको राय बुझेर नै होला सायद वक्तृत्व कला प्रतियोगिता गर्ने भनिएको थियो । कार्यक्रम करिब १२ बजेबाट सुरु हुने भनिएको थियो। मैले त्यस कार्यक्रममा प्रतियोगिका हिसाबले सहभागिता नजनाएपनि एक विद्यार्थीका हैसियतले विद्यालय जाने तरखरमा थिएँ। म करिब ११:३० तिर पुग्ने योजना बनाएर म कोठाबाट हिडेको थिएँ। उक्त कार्यक्रममा विभिन्न जनप्रतिनिधि, समाजसेवी तथा माथिल्लो ओहदाका व्यक्तित्वको आतिथ्यताको कुरा थियो। त्यो कार्यक्रममा विद्यार्थी तथा अभिभावकको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

म पनि आफ्नो विद्यालयमा बाल दिवसको अवसरमा हुने भनिएको कार्यक्रममा उपस्थित हुनको लागि करिब १० बजे तिर कोठाबाट निस्किएँ। जब तिनकुने चोकमा पुगेको थिएँ तब मेरो कानमा माइतिघर, शहिदगेट, सुन्धारा, आर.एन.ए.सी , रत्नपार्क ... बानेश्वर .. भन्ने आवाज एकाएक ठोक्किन पुग्यो । यसो पछाडी फर्केर हेरेको एउटा सानो १२ - १४ वर्ष जतिको बालक बसको ढोकामा उभिएर कराउँदै थियो। मैले खासै ध्यान दिइँन - मेरा नजर मात्र केही समयकालागि उक्त दृश्यमा केन्द्रित भएका थिए। म अलि हतारमा थिएँ किनकी आज मेरो विद्यालयमा बाल दिवस छ ।  एक छिन हिडेर शान्तिनगर गेटमा मात्र के पुगेको थिएँ , मेरो आँखा रिद्धिसिद्धि यातायातको बसको ढोकामा अडिन पुगे । एकाएक त्यो दृश्यले मलाई एकछिन भएपनि आकर्षित गरेको थियो । बसको ढोकामा त्यही अघिकै जस्तै १३-१४ वर्षको बालक उभिएको थियो जसलाई हामी हेपेर खलाँसी भन्छौँ अनि त्यसैलाई सभ्य भाषामा सहचालक भन्दछौँ। जे भने पनि त्यो मात्र एउटा बालक थियो उक्त उपाधि पाउँन ऊ अझै लायक भएजस्तो लागेन त्यसबेला। यस्तै केही कुरा मेरो मनमा ती दृश्यले खेलाईदिए । "भाई बाटो छोड्नुस् त " मसिनो मिठो स्वरले मलाई झस्काइ दियो । म त टोलाउन पो पुगेछु । अनि त्यही बालक  'कलंकी जाने हो ' भन्दै रहेछ अरु मानिसहरूलाई । म नजिक आएर उसले त्यही प्रश्न दोहोर्‍यायो । मैले भने केही नबोलीकन नजाने भावमा टाउको मात्र हल्लाएँ । ऊ अन्य मानिसका पछि दुगुर्‍यो। म भने विद्यालयमा आज बालदिवस छ भन्ने कुरा सम्झिएर आफ्नो बाटो छिटोछिटो चाल्दै तताएँ । म आफ्नो मनमा आज विद्यालयमा को को ठूला मान्छे आउलान् भन्ने सोचेर हिडिरहेको थिएँ । केही समयपछि निजामति कर्मचारी अस्पताल नजिकै पुगेँ । सबै मान्छे नाक थुनेर हिडिरहेका थिए । म पनि नाक थुन्दै अघि बढेँ किनकी त्यस अस्पतालको बायाँतिर फोहोरको डङ्गुर थुपारीएको थियो । बजारको Area सबै पढेलेखेकै होलान् तर पनि यस्तो किन ? भन्ने प्रश्न उठ्न नपाउँदै मेरो ध्यान फोहोरको डङ्गुरमाथि गयो । चारओटा कुकुर सँगसँगै एउटा सानो दश वर्षजतिको बालक के के खोज्दै थियो । फोहोरमा बोतल खोज्दै रहेछ त्यो अबोध बालक । मैले ऊ तिर हेरिरहँदा उसलेपनि म तिर नै हरिरहेको थियो तर आजसम्म मलाई थाहा छैन उसले मलाई हेरिरहेको थियो या मैले लगाएको विद्यालयको पोषाक हेरिरहेको थियो या मेरो पछाडी नाक थुन्दै आफ्नो आमाको हात समातेर उफ्रँदै हिडिरहेको एउटा आफूजस्तै अनुहार हेरेको थियो । सायद उसले हामी दुवैलाई हेरेको हुनुपर्छ । हामी केही अगाडि बढ्दासम्म उसले हेरिरहेकै थियो । हामी केही पर पुगेपछि उसले काममा निरन्तरता दियो -ऊ बोत्तल खोज्न नै व्यस्त भयो। त्यसै समयमा शङ्खमूल तिरबाट एउटा विद्यालयको र्‍याली माइतिघरतिर जाँदै थियो । मलाई लायो कि उक्त विद्यालयमा पनि आज बालदिवस रहेछ किनकी र्‍यालीको अग्रपङ्क्तिका दुई विद्यार्थीले ' बालदिवस ' भन्ने ब्यानर बोकेका थिए । त्यहाँ नअल्मलिएर आफ्नो विद्यालयको बालदिवसलाई समात्न म टक्क अडिएँ किनकी जेब्रा क्रसिङ्गको पारी पट्टी रातो बत्ति बलेको थियो । करिब ३ मिनेटको प्रतिक्षापछि हरियो बत्ति बल्यो । सरासर सडक पार गरेर पारी पट्टी पुगेँ । त्यहाँ एकजना दाजु फुटपाथमा पत्रपत्रिका बेच्दै हुनुहुन्थ्यो । मैले एउटा पत्रिका उठाएर पढ्न थालेँ । त्यसको पहिलो पानामा लेखीएको थियो - 'प्रधानमन्त्री र राष्ट्रपतिले बालदिवसको अवसरमा बालबालिकालाई शुभकामना दिनुभएको छ ' । मैले त्यो शुभकामना पढीरहँदा अघि देखेका ती दृश्यहरू सम्झिन थालेँ र मनमनै सोचेँ 'अघिका बसका ढोकामा उभिएका र फोहोरमा देखीएको बालकहरूले प्रधानमन्त्री र राष्ट्रपतिका आफ्नालागि भनीएका ती शुभकामना सुन्न पाए होलान् कि नहोलान् ?' दोश्रो पेजमा समाचार थियो - 'कोटेश्वरमा फोहोरमा फालिएको अवस्थामा मृत नवजात शिशु फेला ' । समाजमा मानवीयता नै सङ्कटमा परेको अनुभव गरेँ । त्यो समाचार पढ्दै थिएँ - एउटा मसिनो स्वर मेरो कानमा ठोक्किन पुग्यो । मैले यसो छेउतिर टाउको घुमाएर हेरेँ । १० वर्ष जतिकी सानी नानी " दाई १० रूपैयाँ दिनुस् न " भन्दै मान्छेसँग माग्दै थिइन् । मेरो खुट्टा अडिक रहन सकेनन् , मैले खुट्टा चालेँ र ती नानी म ठाउँ आई नपुग्दै मैले उनलाई त्यहीँ गएर ५० रुपैयाँ दिएँ । ती बहिनीको मुहारमा खुसीका धर्साहरू दौडीरहेका प्रस्टै देखिन्थे । त्यती गरेर पत्रिकामा मेरा नजर के गएका थिए तेस्रो पेजमा मेरा आँखा अडिए , आँखा रसाए , प्रधानमन्त्री र राष्ट्रपतिका शुभकामना अर्थहिन लागे , समाज - समाज नै नरहे जस्तो लाग्यो , त्यो समाचारको हेडिङ पढी सक्दा पुरै पत्रिका नै पढ्न मन लागेन ,वरिपरि धमिलो नै देखेँ । एक छिन आँखा चिम्म गरेर लामोलामो सास फेरेँ , त्यहीँ अडिरहेँ ।  समाचार थियो - '१३ वर्षिया बालिका र २१ वर्षिय युवाद्वारा बलत्कृत ' । केही क्षणपछि विद्यालय तर्फ हानिएँ , किनकी आज विद्यालयमा बाल दिवस छ
घडीको सुइले पनि साढे एघार नाघीसक्न थालेको रहेछ । करिब १० - १५ मिनेटको हिडाइ पछि म विद्यालय पुगेँ । साथीहरू , अतिथीहरू, शिक्षक शिक्षिका सबै आइसक्नु भएको रहेछ । केही बेरमै कार्यक्रम सञ्चालन भयो । कार्यक्रम सञ्चालकका रुपमा मैले मेरै साथीलाई पाएँ । कार्यक्रम सुरु भयो - कार्यक्रममा पाल्नु भएका अतिथीका मन्तव्यसँगै, विभिन्न नाँचगानका प्रस्तुतीसँगै । विद्यार्थीले पनि आ-आफ्ना वक्तृत्व क्षमताको प्रदर्शन गरे र कार्यक्रम समापनकालागि प्रमुख अतिथीले आफ्नो मन्तव्य राख्दै हुनुहुन्थ्यो । उहाँ बालबालिकाको क्षेत्रमा काम गर्ने एकजना व्यक्ति तथा सरकारका तर्फबाट एकजना प्रतिनिधि पनि हुँनुहुँदो रहेछ ।
उहाँले आफ्नो मन्तव्यमा निकै धेरै कुराहरू गर्नुभयो र ताली पनि पाउनुभयो । भाषण यस्तो थियो : काठमाडौँ तथा देशका कुनै पनि ठाउँमा बालबालिका भोकभोकै हिड्नुहुँदैन र हिडेका पनि छैनन्। कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित भएको र बालबालिका सडकसडक  माग्दै हिडेको तपाईंले केही वर्षयता देख्न नै छोडि सक्नु भयो - यो सब हाम्रो उपलब्धी हो। ९५% बालबालिका प्रत्यक्ष विद्यालयको प्रत्येक्ष पहुँचमा पुगीसकेका छन् । सम्पूर्ण बालबालिकाले पाउनु पर्ने हक पाएका छन् - कहीँ कतै छुटपुट होलान् बाँकी नत्र सब अहिले एकदमै राम्रो छ । शैक्षिक सत्रको सुरुमा हुने भर्ना कार्यक्रमलेपनि धेरै सघायो हामीलाई । उहाँका ती भाषणको म केवल तटस्थ दर्शक र श्रोता मात्र थिएँ । उहाँको भाषण सुनीँरहँदा विहान आउँदा आफूले देखेका ती दृश्यहरू पुनः दिमागमा ताजा हुन थाले र उहाँका कुरासँग आफूले देखेका दृश्य दाँज्न पुगेँ र मेरो मनमा ती अतिथी गणलाई आफू आएकै बाटो हिडाएरै लग्ने इच्छा जागेर आयो तर के गर्नु नसकिने । यस्तै किसिमले मेरो विद्यालयको मेरै खुसीकालागि , मेरै अधिकारकालागि गरिएको बालदिवस समापन भयो तर म  भने खुसी हुन सकिँन

त्यस दिनदेखि आजसम्म मेरो मनमा प्रश्न नै प्रश्नको खोलो बगिरहेको छ , अझ जब भदौ २९ आउँन थाल्दछ तब मनमा त प्रश्नको बाढी नै आउँछ । अनि मेरो प्रथम प्रश्न हुन्छ - एकदिन मनाउँने बालदिवसको औचित्य के ? उपलब्धी के ?, बालबालिकाको हितमा काम गर्ने संयुक्त राष्ट्र सङ्घीय संस्था UNICEF को कार्य के हो? ,अहिले सम्म त्यसले हाम्रो जस्तो मुलुकको लागी के के गर्‍यो ? बालबालिकाको क्षेत्रमा कार्य गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घसंस्थाको काम के हो?, हाम्रा विद्यालयको काम के हो ? बाल दिवसको दिनमा र्‍याली लगाएर विद्यार्थीलाई दुःख दिने मात्र त हैन होला ?, नेपाल सरकार , महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय कहाँ छ ? यस्ता कैयौँ प्रश्नहरू तपाईंहरूका मनमा पनि उठ्छन् होला तर यो प्रश्नहरू आधाको आधा नै छन् अझै पनि उत्तर पाएर पूर्ण गर्न अझैं पनि मैले सकेको छैन .. उत्तरको खोजीमा .......... 

जब मलाई भदौ २९ गतेको याद आउँछ मैले देखेका ती दृश्यले मलाई अहिले पनि च्यापी नै रहन्छन् , अँठ्याइ रहन्छन् र म छट्पटिन्छु र एकछिन बाहिर निस्कन्छु तर मेरो मन र आत्माले शान्ति पाउँदैन किनकी बाहिर निस्कँदा त्यस्तै कैयन् दृश्यसँग पुनः साक्षात्कार गरी नै रहेको हुन्छु । त्यस दिनदेखि अहिलेसम्म पनि ती र त्यस्ता कैयौँ बालबालिकाको जीवनमा - जीवनमा नभनौं दैनिकिमा कुनै सकरात्मक परिवर्तन आएको जस्तो मलाई लाग्दैन । म सोच्दछु , 'शायद ती बालबालिकाको लागि काम गर्ने नेपाल विद्युत प्राधिकारणको इतिहासको कुलमान जस्तै कोही जन्मेकै छैन त ?' र त्यस प्रश्नलाई प्रश्न मै सिमित नगरी पूर्ण रुप दिन अब आफू बाट नै सुरुवात गर्न चाहन्छु मात्र हजुरहरूको साथ सहयोगको खाँचो छ।

( म संसार जित्न होइन ती बालबालिकाको मन जित्न चाहन्छु , मात्र तपाईंहरू मेरो साथ बसीदिनू ।)

About Bhupendra Acharya

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

1 Comments: