Ichhchha( इच्छा ) Poem

 इच्छा


-बालकृष्ण शम 

- शार्दूलविक्रीडित छन्द


इच्छा यो छ महेश अन्तिम जसै यो मृत्युसैया जली

मेरो रक्त सुकाउला म गरूँला अन्योल भै छट्पटी

त्यो बेला मुखमा बुटीहरू परून् नेपालकै केवल

जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ॥


यो नेपाल स्वतन्त्र भै फुलिरहोस् राजाप्रजामा सधैँ

झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति ऐश्वर्यको

यो सन्देश म ब्रह्मनाल तकिया पारी पठाऊँ वहाँ

साक्षी शङ्कर छन् श्मसानपछिका आशा रहेका जहाँ ॥


बज्ला मन्दिरमा तथास्तु जब यो घण्टा दिदैँ उत्तर

हास्तै शान्त भई उही समयमा नेपाल हेरी मरूँ

मेरो लाश पवित्र चन्दन घसोस् कात्रो मलाई बनोस्

नेपाली सुकुमार हातहरूले खस्रा बुनेका लुगा ॥


नेपाली वनका कपुर तुलसी श्रीखण्डका साथमा

प्यारो सुन्दर आर्यघाट तटको साजा चितामा जलूँ

पाऊँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँमा

नेपालीहरू छन् मरिकन सबै जन्मिरहेका जहाँ ॥

About Bhupendra Acharya

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

2 Comments: