Voice of Responsible Citizen

आवाज: जिम्मेवार नागरिकको:: 🙏🏻“समृद्ध नेपालको अबको आधार : कृषि,जलस्रोत‌ र पर्यटन”🙏🏻 “केही गर्न चाहनेले देश बनाउँन नलागौं, केवल आफू बनौँ ,देश त आफै बन्नेछ”

नयाँ वर्ष २०७८

नयाँ वर्ष २०७८

-भूपेन्द्र आचार्य 



केही आशा र निराशा छरेर

केही आक्रोश र केही सन्तोष

अनि ,

कहिले खुला हृदयको हाँसो

त कहिले

अट्टहास हाँसेर

बिदाइ भएको छ २०७७

र,

भएको छ पोहोर साल ।



वसन्तको मध्यतिर आइपुग्दा

पुष्प र बिरुवाका

पल्लवीत पल्लवी

र नयाँ जीवन खोजीरहेका

मुना सँगसँगै

आमन्त्रित भएको छ — २०७८

कुनै भिन्नता पाइँन मैले नयाँ वर्षमा

पोहोरको वैशाख १ जस्तै गरी

घन्की रहेका थिए,

छ्याप्छ्याप्ती थिए,

प्रधानमन्त्रीको भाषण - देशवासीका नाममा

सर्वसाधारण देखी उच्च पदस्थ ठानीनेका

सजिसजाउ शुभकामना सन्देश

सामाजिक सञ्जालमा ,

हिजो बिहान जस्तै गरी

केही मानिसहरू दौड लगाउँदै आउँदै गरेका थिए

मास्क विनै

त केही मानिस वर्षको सुरुवाती मै

उडाईरहेका थिए अमूल्य जीवन

चुरोट सँगसँगै ।



पोहोर सालको पूर्व सन्ध्यामा झैं

२०७७ को अन्तिम सातामै

नेपाली भन्दा अगाडि नै

लागिसकेको थियो नयाँ वर्ष

वियर , ह्विस्कि र कोल्ड ड्रिङ्क्समा

अनि के आशा गरौं म यो नयाँ वर्षमा ,

बस् मलाई

न २०७७ को पात्रो टङ्ग्याइराख्न मन लाग्यो

न २०७८ को पात्रो टङ्ग्याउन ।



हिजो देखी नै बलेको आशाको दियोमा

तेल थप्ने काम मात्र नहोस् २०७८ मा

स्वर्गद्वारी पीठको अखण्ड धुनी जस्तै

दन्कियोस् आशाको दियो, 

नमरोस् नाभीस्थान र शीरस्थानको

ज्वाला झैं— २०७८ मा

---

जापान , अष्ट्रेलिया र यु.एस.ए मा

नजाउन शिक्षित युवा

केवल

काम गर्न

पढ्ने निहुँमा

विद्यार्थी भिसामा ,

नविदेशीउन् नेपाली कर्मठशील युवा

एक छाक गुजारा गर्ने

र आफ्ना बालबच्चालाई एकसरो

किन्ने लक्ष्य लिएर ।



नदोहोरिउन् विगतका भुलहरू

नबेचिउन् अवोध बालिका

र विवश नेपाली महिला ,

यस नयाँ विहानी देखी

सुन्नै नपरोस्

मेरी दिदी बहिनी

आफ्नै

गाउँका कामुक नजरले

डामीएको समाचार

देख्नै नपरोस् 

एसिड छाप्नेका ती

पापी अनुहार ।



यस नव दिनदेखी

छोडी दिउँ

आशा गर्ने वानी

छोडी दिउँ

मात्र आलोचना

गर्ने वानी

र थालौं

आफैलाई सुधार्न,

श्रमिकलाई, शिक्षकलाई

र सबै मानिसलाई सम्मान 

र समान व्यवहार गर्न,

म पनि यस्तै गर्छु

तपाईं पनि यस्तै

अझ राम्रो गर्नुहोस् — यो वर्षमा

कसो नबनौंला र

हामी

राम्रा र सुसभ्य

अनि

कसो नबन्ला 

र हाम्रो घर

हामी आफैलाई राम्रो लाग्ने,

सम्पूर्ण नेपालीहरूमा

शुभकामना वि.सं २०७८ को 

You can find me also in Anchor

👇👇👇👇

Post a Comment

2 Comments

  1. अति सुन्दर कविताको लागि हजुरलाई धन्यवाद भुपेन्द जी❤️💞

    ReplyDelete
  2. कविता पढेर प्रतिक्रिया दिनुभएकोमा हजुरलाई पनि धन्यवाद निर्भाना जी

    ReplyDelete