Voice of Responsible Citizen

आवाज: जिम्मेवार नागरिकको:: 🙏🏻“समृद्ध नेपालको अबको आधार : कृषि,जलस्रोत‌ र पर्यटन”🙏🏻 “केही गर्न चाहनेले देश बनाउँन नलागौं, केवल आफू बनौँ ,देश त आफै बन्नेछ”

Ghumne Mechmathi Andho Manchhe

 


घुम्ने मेचमाथि अन्धो मान्छे

- भूपी ( भूपेन्द्र मान ) शेरचन

दिनभरी

सुकेको बाँसझैं

आफ्नो खोक्रोपनमाथि

उँघेर,

पछुताएर,

दिनभरि

रोगी मलेवाझैं

आफ्नो छाती आफ्नै चुचोले ठुँगेर,

घाउहरू कोट्याएर;

दिनभरि

सल्लाघारी झैं एकलासमा

अव्यक्त वेदनाले सुँक्क-सुँक्क रोएर ;

दिनभरि

पाते च्याउझैं

धरती र आकाशको विशालतादेखि टाढा

एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर

एउटा सानो छाताले आफूलाई ढाकेर

साँझमा

जब नेपाल खुम्चिएर काठमाडौं

काठमाडौं डल्लिएर नयाँ सडक

र नयाँ सडक - असङ्ख्य मानिसका पाउमुनी कुल्चिएर

टुक्रिएर

अखबार , चिया र पानको पसल बन्छ ;

किसिम- किसिमका पोशाकमा

ओहोरदोहोर गर्छन् थरीथरीका हल्लाहरू

फूल पारेको कुखुराझैं कराउँदै

हिड्छन् अखबारहरू

र ठाउँ - ठाउँमा अन्धकार पेटीमा उक्लिन्छन्

मोटरहरूको प्रकाशदेखि तर्सेर

अनि असङ्ख्य मौरीको भुनभुन र डसाइदेखि आत्तिएर

म उठ्छु

न्यायको दिनमा प्रेतात्मक उठेझैं

र नपाएर विस्मृतिको ' लेथे ' नदी

रक्सीको गिलाँसमा हाम्फाल्छु

र बिर्सन्छु आफ्नो पूर्व कथालाई पूर्वजुनी र मृत्युलाई

यसरी नै सधैँ

चियाको किटलीबाट एउटा सूर्य उदाउँछ ,

सधैँ रक्सीको रित्तो गिलाँसमा एउटा सूर्य अस्ताउँछ

घुमिरहेकै छ म बसेको पृथ्वी - पूर्ववत्

फगत म अपरिचित छु

वरिपरिका परिवर्तनदेखि

दृश्यहरूदेखि

रमाइलोदेखि

प्रदर्शनीको घुम्ने मेचमाथि

करले बसेको अन्धो जस्तै ।

Post a Comment

1 Comments