प्रति
- गोपाल प्रसाद रिमाल
ओ युवती, ओ रुपवती
तिमीसित मेरो घामपानी जस्तो मिलन भयो,
तिमीलाई सम्झना होला -
हामी बादल जस्तै गुटुमुटु पनि भएका छौँ
त्यो बादलमा इन्द्रधनु पर्यो
झरी लाग्यो, हुरी आयो
अनि हामी आकाश जस्तै सङ्ला पनि भयौँ
तिम्रो गहिराइमा तिम्रो गम्भिरतामा, ओ सुन्दरी
मेरो उत्ताउलो उचाइ हराएको छ
हामी रोएका छौँ, हामी हाँसेका छौँ
तर आजको होशले ती सब कुरालाई खल्लो तुल्याईरहेछ,
त्यो जोशमा यो होश हुनुपर्ने
मैले 'म तिमीलाई प्रेम गर्छु' भन्नुको सट्टा
'म तिमीलाई गर्भाधान गरिरहेछु' भन्न सक्नुपर्ने
ओ युवति , ओ रुपवती
प्रेम त जङ्गलमा पनि हुन्छ,
यो गाउँघरमा, यो शहरमा
प्रेममात्र पर्याप्त छैन,
यहाँ स्वस्थ स्पष्ट गर्भाधान हुनुपर्छ,
यहाँ बुद्ध जन्माउनु पर्छ, यहाँ लेनिन जन्माउनु पर्छ
छोराछोरीको अनुहार जस्तो अर्को कुनै
आफू देखिने ऐना छ ?
यहाँ आत्मदर्शन हुनुपर्छ ।
ओ युवती , ओ रुपवती
अर्को चोटि तिमीलाई भेट्दा
म तिमीलाई सोझै भन्नेछु
' म तिमीलाई गर्भाधान गर्छु '
तिमीसित भेट नभए तिमी जस्तै गरी
उत्ताउली
तिमी जस्तै थरी
निन्याउरी
भएर मेरो मन तान्न सक्ने अर्को
कुनै युवती, कुनै रुपवतीलाई
म बलियो भएर त्यसै भन्न सक्ने
होशमा छु,
' म तिमीलाई गर्भाधान गर्छु' ।
( नेपाली काव्य इतिहासको पहिलो गद्य कविताको अनुसन्धान गर्ने क्रममा बालकृष्ण समद्वारा रचित यस 'प्रति' शिर्षकको कवितालाई पहिलो गद्य कविताका रूपमा लिने गरीन्छ यद्यपि पहिलो गद्य कविता कुनलाई मान्ने भन्ने कुरा विवादित नै छ। )
5 Comments
Atti sundar
ReplyDeleteDhanyabad
DeleteThank you very much.
ReplyDeleteVery nice poem
ReplyDeleteThank you
Delete