Voice of Responsible Citizen

आवाज: जिम्मेवार नागरिकको:: 🙏🏻“समृद्ध नेपालको अबको आधार : कृषि,जलस्रोत‌ र पर्यटन”🙏🏻 “केही गर्न चाहनेले देश बनाउँन नलागौं, केवल आफू बनौँ ,देश त आफै बन्नेछ”

पिंजराको सुगा By Kavi Shiromani

पिंजरको सुगा

 - लेखनाथ पौड्याल






बालक बबुरो द्विज शुकनामा
हूँ, म परेको छू पिंजरामा।
मकन हरे! शिव! शान्ति र चैन
सपनाबिच पनि रतिभर छैन।।

मेरा बान्धव बाबु र आमा
बसछन् वनका एक कुनामा।
कोसित पोखूँ मनको ताप
गरदै पिंजराबाट विलाप॥

आँसु बगाई कहिले रुन्छु
कहिले मुर्दा - तुल्य म हुन्छु ।
कहिले पागल सरि उफ्रन्छु
केवल वनका सुख सम्झन्छु ॥

पुलफुल खाई नित्य रमाई
वनमा फिरने बिचरालाई ।
विधिले पार्‍यो पिंजरा भित्र
कर्म हरे ! शिव! हुन्छ विचित्र ॥

कति फिरदो हूँ कति उडदो हूँ
कति कति देशान्तर डुलदो हूँ ।
दैव !हरे ! किन बालकलाई
बन्धन पार्‍यौ व्यर्थ भुलाई ॥

शीतल पानी कुञ्ज - निवास
भोजन मीठा फलको खास ।
त्यो सब हुनगो आज विनाश
बाँकि छ एकै मनको त्रास ॥

हरिया वनको शीतल छाया
बान्धवसँगको मोह र माया ।
डुलनू फिरनू फुलफुल खाई
सपनामय भो हाय ! मलाई ॥

वृद्ध महातुर बाबा जननी
आँसु खसाली दीन बनी।
नित्य रुँदाहुन् हाय !! विधाता !
तोडिदियौ किन त्यो दृढनाता ? ॥

वरिपरि वैरीहरु छन् सारा
छैन कतैतिर कोहि सहारा ।
के गरुँ ! कसरी उम्की - जाऊँ ?
कोसित मनको दर्द बिसाऊँ ? ॥

यो सब गगनैभरमा खास
जसका हुन्थे भोग - विलास ।
उसको अब हा!! जीवन पात्र
केवल सानू पिंजरा मात्र ॥

पिंजरा फोरूँ भनिकन चुच्चो
बलसँग धसदा भो सब बुच्चो ।
बेसरि कुँजिए पक्ष र पाउ
कसरी अब हा !! काल बिताऊँ ।।

कहिले ठण्डी कहिले धूप
कहिले बकबक, कहिले चूप ।
बालकहरुको मनअनुसार
हुन्छ निरन्तर भाग्य - विचार ॥

भाग्य - तमासा जब संझन्छु
अनि पछि सिल्ली - तुल्य म हुन्छु ।
आँसू बहन्छन् छाति चिरिन्छ
चित्त निरन्तर रोइरहन्छ ॥

उठ्दछ मनमा घोर तरङ्ग
सबतिर हेरी हुन्छु भरङ्ग ।
प्राण नजाने काल नआई
के गरि कसरी बाँचूँ हाइ !! ॥

खानु छ खाली तौली धान
त्यो पनि आधा पेट छ जान ।
हेर्दछु भाँडो पानी छैन
भोगिरहेंछू यस्तै चैन ॥

शुष्क छ घाँटी, बन्धन चर्को
बोलनुपरने झर्को अर्को ।
बोलि नबोलूँ लट्ठि उजाई
हुन्छु तयारी पीटनलाई ॥‍

यौटा भन्दछ यो हो पाजी
अर्को भन्दछ यो छ बिराजी ।
भन्दछ तेस्रो आत्माराम !
पढो पढो जी, राखो नाम ! ॥

यो कस्तो हो ? कसरी आयो ?
बसिकन पिंजराबिच के खायो !
यो सब बुझ्ने कोही छैन
हाय !! यसैले मन रहँदैन ॥

जीवन अर्पी बन्धन - भित्र
बोलनुपर्ने बोलि विचित्र ।
तैपनि चारा आधा मात्र
देव ! रहेछौ करुणा - पात्र ॥

 दैव ! दिएथ्यौ तिमिले एक
बोलन सक्ने शक्ति विवेक ।
पाइरहेंछू तेसै - द्वारा
बन्धन, गाली, धम्की सारा ॥

मकन दिलाई सङ्कट जेल
मानिस गरने कौतुक खेल ।
यो कस्तो हो पापाऽऽचार !!
दीन - दयालु ! लाऊ पार ॥

गुणको वैरी मानुष - जाति
शुष्क गराई गुणिको छाती ।
प्राण - पखेरू नलिए - सम्म
खुश किन हुन्थ्यो , हाय ! अचम्म ॥

पृथ्वीतलमा यौटा - संम
मानिस बाँकी रहँदा-सम्म ।
नाथ - सुगाको जन्म नहोस
बल्ल मलाई आयो होश ॥ 


For Translated form in English (Translated by Mahakavi). Click here👇👇👇👇👇👇👇👇👇👇👇

Post a Comment

3 Comments