July 23, श्रावण ८, साढे ४ बजे माथि छतमा लुगा सुकाउन जाँदा देखेँ रत्नपार्क साईडमा मडारिएको बादल, तर ग्वार्को/सातदोबाटो साईडमा एउटा पहाडको थुम्को टलक्कै टल्कीएको ।
एउटा स्न्यापपनि खिचिहालौँ न भन्ने सोच आयो, खिचेँ पनि, त्यत्ती चित्त बुझेन, तैपनि सेन्ट गरौँ सोचेँ, “केही नलेखी पनि त भएन” आफैँ बर्बराएँ र अहिले मोबाइलको स्न्यापच्याटमा होईन, कापीमैं लेख्ने मन भयो ।
लेख्दै जाँदा कुरो र कुलोको दिशा हुँदैन भनेझैँ चारतले घरमाथिदेखि सिङ्गो उपत्यका सुन्दा, स्पर्ष गर्दा, बुझ्दा, हेर्दा, गम्दा भावना कहाँ पुगे पत्तै भएन र कोरीए केही भावना जसलाई कविता बनाउन मैले पूरा वाक्यलाई बिचमा इन्टर थिचे जसरी तल तल सारिदिएँ र यस्तो देखियो राजधानी घरबेटीको छतबाट ।
एकतर्फ मडारिएको बादल
अर्को तर्फ छ्याङ्गै देखिएको पहाडको टल्कँदो थुम्को
समय एउटै तर परिवेश फरक
कतै गड्गडाहड आकाश र प्लेनको
कतै एउटै पनि नाँई
कोही आकाशको गड्गडाहटको प्रतिक्षामा
कोही प्लेनको गड्गडाहटको प्रतिक्षामा
कोही दुईटै बाट वाक्क
समय एउटै तर परिवेश फरक
कतै नास्पति, बाँझो खेतको मल
कतै बाटोमा टमाटरको भल
कहीँ ‘सुन’ चुपचाप
कहीँ बाटो छेउको मकैको धुवाँ देशभर
समय एउटै तर परिवेश फरक
कतै मुख बाईरहेका बाँझा खेत उर्वरता गुमाईरहेछन्
कतै छत छतमा देखीईरहेछ राजधानीको उर्वराशक्ति
मकैका पात, बोडीका त्यान्द्रा, धनियाँ र यस्तै
राजधानीका छतमा आफ्नै पाराले हल्लिईरहेछन्
र त्यसैगरी हल्लीरहेछन् देशका कलीला मुन्टा
कुनै अपरिचित संसारमा , परिचित संसार कल्पिँदै
यत्ती फरक छ कि
मकैका पात स्वतन्त्र हल्लीरहेछन्
तर उनीहरू
देश, भाग्य, नियति, सुख, परिवार, इच्छा, गरिबीको
जन्जीरको पासोबाट मुक्त हुन
समय एउटै तर परिवेश फरक ।।
©BhpAch
0 Comments