Wednesday, November 25, 2020

बन जीवन्त मानिस By Rastra Kavi

 बन जीवन्त मानिस

— माधव घिमिरे

गाली गर्दैन सारङ्गी झुटो बोल्दैन बाँसुरी

छ सङ्गीत तिमीभित्र मिठो बोल सधैँभरी।।


तारा राति निदाउन्न झरीमा रुन्न इन्द्रेणी

छ साहस तिमीभित्र - चम्क आपत्ति मै पनि।।


उड्दैन फूलको रङ्ग सुक्तैन महको रस

छ जीवन तिमीभित्र - बन जीवन्त मानिस।।


को भन्दछ - नराम्रो छु नजाति कुन बन्छ र

छ ईश्वर तिमीभित्र - बन रे शिव सुन्दर !।।

No comments:

Post a Comment