PAGAL POEM

पागल 


Laxmi Prasad Devkota


जरुर साथी म पागल 
यस्तै छ मेरो हाल
म शब्दलाई देख्दछु
दृश्यलाई सुन्दछु
बासनालाई स्वाद लिन्छु
आकाशभन्दा पातला कुरालाई छुन्छु
ती कुरा
जसको अस्तित्व संसार जान्दैन
जसको आकार संसार जान्दैन
म देख्दछु, ढुङ्गालाई फूल
जब जल किनारका जल चिप्ला ती
कोमलाकार पाषाण
चाँदनीमा
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा
पत्रिएर, नर्मिएर, झल्किएर
बल्किएर, उठ्छन् मूक पागलझैं
फूल झैं एक किसिमका चकोर फूल
म बोल्दछु तिनसँग जस्तो बोल्दछन् ती मसँग
एक भाषा साथी
जो लेखिन्न, छापिन्न, बोलिन्न
बुझाइन्न, सुनाइन्न
जुनेली गङ्‌गा किनार
छाल आउँछ तिनको भाषा
साथी छालछाल
जरुर साथी म पागल
यस्तै छ मेरो हाल

म माघको ठन्डीमा
ताराको सेतु
प्राथमिक रात तापेर बसिँरहेको थिएँ
दुनियाँले मलाई तरङ्‌गित बनायो
भष्मेश्वरबाट फर्कदा सातदिन टोलाएको देखेर
भूत लागेको भने
एक सुन्दरीका  केशमा
समयका पहिला छिर्का परेको देखेर
म तिन दिन रुँदा
मेरो आत्मालाई बुद्धले छुँदा
मलाई छटाएको भने
मैले वसन्तको पहिलो कोकिल सुनेर
नाँचेको देख्दा
बहुला भने 
एक सुनसान औँसीले मलाई
निस्सास भएर
म प्रलय वेदनाले उफ्रिएँ
मूर्खहरूले मलाई त्यसबेला
ठिङ्गुरा हालेर राखे
म तुफानसँग एकदिन गीत गाउँन थालेको थिएँ
मलाई बुज्रुकहरूले राँची पठाइदिए ।
म आफूलाई एकदिन मरेको सम्झेर
लम्पसार थिएँ
एक साथीले बेस्सरी चिमोटीदिएर भने
ए पागल
तेरो मासु अझ मरेको छैन
यस्ता कुरा भए
साल साल
पागल छु साथी
यस्तै छ मेरो हाल

जरुर साथी म पागल
यस्तै छ मेरो हाल
तिमी चतुर छौ, म वाचाल
तिम्रो शुद्ध गणित सुत्र हरहमेशा चालिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ
तिमी पाँच इन्द्रियले काम गर्छौ
म छैटौँले
तिम्रो गिदी छ साथी
मेरो मुटु
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्दैनौ
म उसमा हेलेन र पद्मिनी पाउँछु
तिमी बलिया गद्य छौँ
म तरल पद्य छु
तिमी जम्दछौ जब म पग्लन्छु
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु
र ठिक त्यसैको उल्टो
तिम्रो संसार ठोस छ,
मेरो बाफ
तिम्रो बाक्लो मेरो पातलो
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ
ठोस कठोरता तिम्रो यथार्थ छ
म सपनालाई समात्न खोज्दछु
जस्तो तिमी त्यो चिसो, मिठो अक्षर
काटेको पान ढीकीको बाटुलो सत्यलाई
मेरो छ वेग काँडाको साथी
तिम्रो सुनको र हीराको
तिमी पहाडलाई लाटा भन्दछौ
म भन्छु वाचाल
जरुर साथी
मेरो एक नशा ढीलो छ
यस्तै छ हाल

मैले नवावको मदिरालाई खुन भनेको छु
छिमेकी रन्डीलाई लाश भनेको छु
राजालाई गरिब ,
सिकन्दरलाई गाली दिएको छु
महात्मा भनौदाको निन्दा गरेको छु
नगण्य व्यक्तिलाई तर 
तर
सातौ आसमानसम्म तारीफको पुलमा चढाएको छु

तिम्रा महापण्डित , मेरा महामूर्ख
तिम्रो स्वर्ग मेरो नरक
तिम्रो सुन मेरो फलाम
साथी
तिम्रो धर्म मरो पाप
जहाँ तिमी आफूलाई चलाख सम्झन्छौँ
वहाँ म देख्छु बिल्कुल लाटा
तिम्रो उन्नति मेरो अवनति
यस्तै छ मोलमलाईको उलटपलट साथी
तिम्रो विश्व मेरो बाल
जरुर साथी म बिल्कुल चन्द्राहत छु - चन्द्राहत
यस्तै छ मेरो हाल
म अन्धालाई दुनियाँको अगुवा देख्दछु
गुफा, तपस्वीलाई भगुवा देख्दछु
मिथ्या मञ्च चढेकालाई काला नटुवा देख्दछु
बिफललाई सफल देख्दछु
प्रगतिलाई अगति देख्दछु
यां हुल मे यैंसा दाना
यां हुल मे दिवाना
साथी म दिवाना

निर्लज्ज नेतृत्वको
निरस रचनाको
रन्डीको नाँच हेर
जनअधिकारको
डडाल्नोको भाँच हेर
जब भङ्‌गे, टाउँको छापाको
कालो मिथ्याले
मेरो विवेक वीरलाई जाली झुटले ललकार्छ
तब हुन्छन्‌ मेरा गाला राता साथी सल्केका गोल झैं राता
जब निमुखा दुनियाँ
कालो जहर पिउँछन्
पिउँछ कानले अमृत भन्ठानेर
मेरा आँखा अगाडि साथी
तब उठ्छन् ठाडा मेरा रौँ रौँ
गर्गनका सर्पकेश झैँ
मेरा जिस्क्याइएका रौँ रौँ
जब बाघले मृग खान आँटेको देख्छु साथी
या ठूलो माछाले सानो
तब मेरा मकाएका हड्डीमा पनि
दधिचीको आत्मको भयङ्कर
बल पसेर
बोल्न खोज्छ साथी
स्वर्गबाट चट्याङ् परेको दिन झैं

जब मानवले  मानवलाई
मानव ठान्दैन साथी
तब कड्कडाउँछन् मेरा बत्तिस दन्ते बङ्गार दुवै
जस्तो भिमसेनका दाँत
अनि प्रकोपले लाल लाल आँखाका डल्ला
फनक्क घुमाएर एक डबलले
म यो अमानवको मानव जगतलाई
एक आगोको लप्काले झैं हेर्दछु साथी
उफ्रिन्छन् मेरा खलपूर्जा
खलबल खलबल

तुफान हुन्छ मेरो साथी
विकृत हुन्छ मेरो चेहेरा
बन्दछ मेरो दिमाग साथी
वडवानल झैँ, वडवानल झैँ

म बन खाने आगो झैं
बहुला हुन्छु, बहुला साथी
काँचै निलुला झैं विश्व विशाल
जरुर साथी म सुन्दर चकोर
असुन्दर फोहोर
कोमलक्रुर
चिडिया स्वर्गाग्नी चोक
तुफान पुत्र
पागल ज्वालामुखीको उद्गार
भयङ्कर व्यक्तित्व पाल
जरुर साथी
सन्के मगज छु सन्के
यस्तै छ मेरो हाल
जरुर साथी म पागल

For Translated version
Click here👇👇👇👇

About Bhupendra Acharya

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

6 Comments: