वैदेशिक रोजगारी प्रतिको आकर्षण
( माघ महिनाको कठ्याङग्रीने जाडोको समय छ । त्यसैले चिसो मौसममा झ्याल ढोका बन्द गरी नजिकै रेडियो राखी आगोमा हात सेकाउँदै अति मिलनसार साथीहरू रविन्द्र र ध्रविन्द्र । उनीहरू रबिन्द्रको घरमा धेरै पछिको भेटमा गफ गरिरहेका छन् । )
रविन्द्र : यो चिसो मौसम पनि काट्न गाह्रो होला जस्तो छ।
ध्रविन्द्र : हो त नी । चिसो त साह्रै बढी राख्या छ । गर्मीमा धेरै गर्मी अनि चिसोमा धेरै जाडो; गाह्रो छ है अबका मान्छेलाई । यो सब जलवायु परिवर्तन कै असर हो यार ।
रविन्द्र : खै के हो के हो ? यार ( अलि उता सर्दै ) म त केही बुझ्दिनँ ।
ध्रविन्द्र : ( रविन्द्रको मुखतिर हेर्दै ) अनि के कस्तो इलम गरिराख्या छस् त ? आजभोली ।
रविन्द्र : ( निराश हुँदै ) के हुनु ..? केही गऱ्या छैन । अब चिसो पछि हिड्नु पर्ला जस्तो छ ।
ध्रविन्द्र: ( उत्साहित हुँदै ) हैन , तैंले कता हिडने भनेको होस् ? कुरा नै बुझेन हौ मैले त ।
रविन्द्र : अब के गर्ने त ? गाउँघरमा केही कामकाज छैन , गरौं भने पनि दुःख मात्रै, उपलब्धी शून्य हुन्छ । त्यसैले हेर् धविन्द्रे म त अब कुबेत तिर लाग्नुपर्यो कि भन्ने सोच्या छु ।
ध्रविन्द्र : ( आत्तिँदै) हैन , तैले यस्तो सोच कहाँ बाट निकालिस् ? आफ्नै ठाउँमा गाउँमा केही नगरेर के के कुरा गर्छ गर्छ ?
रविन्द्र : ( अचम्मित भएजस्तो गरी ) ह्याँ । तैले यो बाँझो गाउँको कुरो गऱ्या ? के हुन्छ ह्याँ ? तैं भन् त ?
ध्रविन्द्र : ( सम्झाउँने पारामा ) नझर्किं न नझर्कि। यहाँ न .... ( बिचैमा रविन्द्र बोल्छ )
रविन्द्रः ( शान्त भएर ) हाम्रो देशमा के नै पो छ र ? न त सजिलै रोजगारी पाइन्छ न त कुनै व्यवसाय सजिलैसँग गर्न सकिन्छ ।
ध्रविन्द्र : यहाँ नै केही इलम गर न । बाहिर , अरुको देशमा सुनेको जस्तो हुन्छ र ?
एउटा भनाई छ नी 'देशले केही दिएन भन्नु भन्दा अगाडि आफूले देशलाई के दिएँ भन्ने ख्याल राख्नु पर्छ ' भनेजस्तै यस्तो गाउँमा के हुन्छ र ? भन्नु अगाडि ह्याँ तैंले के के गरिस् भन्त ? ..
( वातावरण शान्त हुन्छ । रविन्द्र केही नबोली लठ्ठीले खरानी खेलाइरहन्छ । ध्रविन्द्र रविन्द्रको उत्तरको पखाईमा हुन्छ । विस्तारै रविन्द्र बोल्न थाल्छ ।)
रविन्द्र : ( भुइँतिरै हेर्दै ) उहाँ बुढीयाशीरको विदेश पठाउँने सीतारामले कुबेतमा ५०,००० हुन्छ भन्थ्यो । त्यती भए त उल्कै भइगो त सानो परिवारलाई ।
ध्रविन्द्र : ओहो ! त्यसले ठग्न त आँटेको होइन तँलाई ?
रविन्द्र : ( आगोबाट अलि टाढा सर्दै ) काँ ठग्थे र तीँ दाईले । ह्वाँ देराधुनमा १२००० आइसी कमाउँथे भने .. अनि बुढियाशीरकै रत्नलाल अनि नयाँरामलाई पनि उनैले पठाका हुन् रे । २ वर्ष पुग्न लागीसक्यो , राम्रै गरी राछन् होला ।
ध्रविन्द्र : त्यसो भनेर हुँदैन हेर । आफ्नो देश , गाउँठाउँ भनेको आफ्नै हो । यहाँ बसेर हामीले दुःख गर्यौँ भने नेपालकै लागि हुन्छ तर विदेश गएर मरिमेटी गरिस् भने त्यो दुःख बालुवामा पानी खनाए जस्तै हुन्छ । त्यसैले म त तँलाई यहीँ बस् भन्छु है । समयमै बिचार गर् ।
( गफ गर्दागर्दै साँझको ६ पनि बज्छ । अब समाचार सुन्ने विचार गरेर रविन्द्रले रेडियोको बटन घुमायो । ६ बजेको 'नेपाल खबर ' उज्यालोबाट आइरहेको रहेछ । मलेशीयामा धेरै महिला दिदीबहिनीहरू घरेलु हिसांमा परेको समाचार आइरहेको थियो । लगत्तै अर्को समाचार आयो दलालले कुबेत पठाइदिन्छु भनेर उडेका २ नेपाली युवा बहराइनमा अलपत्र परेको अवस्थामा फेला परेका छन् । बर्दियाका रेशम गौतम र मणीराम दाहाल त्यस्तो अवस्थामा फेला परेका हुन् । उनीहरूलाई नेपाली राजदुतावासको सहयोगमा आजै नेपाल फर्काइदै छ । . ..)
( समाचार नसकिँदै बिचैमा रविन्द्र बोल्छ । )
रविन्द्र : ( हतारहतार ) रेशम र मणीराम गएको त भर्खर साढे दुई महिना त भयो त । त्यै सीतारामले पठाएको त हो ।
( फेरी अर्को समाचार विदेश सम्बन्धि नै आउँछ । वैदेशिक रोजगारको क्रममा कतार गएका दैलेखका ३४ वर्षीय पदम रिजालको कम्पनीकै काम गर्ने क्रममा मेसिनमा गडबडी आउँदा च्यापिएर मृत्यु भएको छ । )
( रविन्द्रले रेडियो बन्द गरीदिन्छ । एकछिन कोही बोल्दैनन् । )
रविन्द्र : ओहो मैले ठूलै गल्ती पो गर्न लागेको रहेछु । सीतारामले त ठाडठाडै ठग्न पो आँटेको रहेछ । त्यसको प्रलोभनमा परेर विदेशी भूमीमा जान लागेको रहेछु । आफ्नै गाउँठाउँमा दुःख देखेर ।
ध्रविन्द्र : थाहा पाइस त । मैले भनेको त सुनेकै थिइनस । आफ्नै गाउँमा कुनै पेसा गरेर खुसी जीवन बिता भन्दा कुबेत गएर सुखी जीवन नै सपनामा देखिस् । अब के विचार गरिस् त ? मेरो भनेको मान्ने भए विदेशी मिथ्या आकर्षण त्यागी आफ्नै देशमा पसिना चुहाई गाउँ समाजलाई केही योगदान दे । नत्र त तँ पनि यस्तै समाचार होलास् ख्याल गर है ख्याल गर ।
रविन्द्र : ठीक भनिस् यार । सुखी जीवनको आशामा वरिपरिको खुसी जीवन नदेखेर मैले त निकै ठूलो गल्ती गर्न थालेको थिएँ । अब त मैले कुवेतलाई मनबाट हटाइसकेँ । अब म गाउँमा नै खेतीपाती गर्छु या कुनै नयाँ सीप सिक्छु र समाजको स्तरोन्नतीगर्ने प्रण गर्छु । ल अब खाना खाऔँ यार ध्रविन्द्र अनि गफगाफ गरौँला।
( दुवै जना खाना खाई रेडियो सुनी पल्टिन्छन्। )
0 Comments